काठमाडौं: त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन निर्धारित समयमा नहुने लगभग पक्का भएको छ ।
त्रिभुवन विश्वविद्यालयको स्ववियु नियमावलीमा चुनाव हुनुभन्दा एक महिना अगाडि नै कार्यतालिका सार्वजनिक हुनुपर्ने व्यवस्था छ । तर, त्रिविले चुनावको तालिका सार्वजनिक गरेको छैन । त्यतिमात्र होइन, स्ववियु निर्वाचन समितिको अध्यक्ष रेक्टर हुने व्यवस्था छ, तर रेक्टर पद हाल रिक्त छ । त्यसैले स्ववियु निर्वाचन फागुन १४ गते नहुने भएको हो ।
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख गंगाबहादुर थापाले भने नेपाल विद्यार्थी संघ (नेविसंघ)ले समय मागेकाले स्ववियु चुनावको कार्यतालिका ननिकालिएको बताए । ‘नेविसंघका नेताहरुले हामीलाई केही समय चाहियो भनेकाले कार्यतालिका निकाल्न सकेका छैनौं,’ थापाले भने, ‘काम अघि बढाउन विद्यार्थीहरुको सहमति आवश्यक छ ।’
फागुन १४ को मिति मान्य छैन : नेविसंघ अध्यक्ष ढुंगाना
नेविसंघको वर्तमान नेतृत्वले भने आफूहरुको परामर्शविना तोकिएको स्ववियु चुनावको मिति मान्य नहुने भनेकाले पनि फागुन १४ को मिति टर्ने निश्चित छ । नेविसंघ अध्यक्ष ढुंगानाले त्रिविले सबैको सहमतिमा चुनावको नयाँ मिति तोक्नुपर्ने बताए ।
‘नेविसंघ लामो समय नेतृत्वविहीन भयो । त्यसबिचमा त्रिविले को–कोसँग छलफल गर्यो, हामीलाई थाहा छैन । नेविसंघले माघ १६ गते नेतृत्व पाएपछि त्रिविले छलफल गरेको छैन,’ अध्यक्ष ढुंगानाले भने, ‘अब त्रिविले सबै विद्यार्थी नेताहरुसँग बैठक छिटो डाकोस् र त्यसको म्यान्डेडअनुसार नयाँ मिति तोकोस् ।’
उनले त्रिवि स्ववियु चुनाव गराउन गम्भीरतापूर्वक नलागेको आरोपसमेत लगाए । ‘सबैभन्दा पहिले रेक्टर नियुक्त हुनुपर्यो। त्यो रेक्टरसहितको समितिले बैठक बोलाएर नयाँ मिति र तालिका सार्वजनिक गर्नुपर्छ, तर यी सब कुरामा त्रिभुवन विश्वविद्यालय गम्भीर देखिएको छैन,’ उनले भने ।
नेविसंघ अध्यक्ष ढुंगाना भने नेविसंघलाई दोष दिएर स्ववियू चुनावलाई टार्न खोजिएको आशंका गर्छन् । ‘हाम्रो केन्द्रीय समिति मात्र त नभएको हो नि, क्याम्पस, जिल्ला कमिटीहरु त पहिलेदेखि नै छन्,’ ढुंगानाले भने, ‘हामी चुनावको पूर्ण तयारीमा छौं । यहाँ नेविसंघलाई दोष दिन मिल्दैन ।’
२०७६ सालभित्रै स्ववियुको सुनिश्चितता हुनुपर्छ : रञ्जित तामाङ
अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले २०७६ सालभित्रै स्ववियु निर्वाचनको सुनिश्चितता हुन्छ भने नेविसंघको मागमा केही लचिलो हुन सकिने बताए । एक महिनाको समय अवधिमा नेविसंघले आफ्नो आन्तरिक तयारी सक्ने र स्ववियु चुनावमा सहभागी हुने उनले विश्वास व्यक्त गरे ।
‘सबैभन्दा पुरानो प्रजातान्त्रिक संगठन नेविसंघलाई चुनावमा ल्याउनका लागि केही समय उपलब्ध गराउनुपर्छ भने पनि हामी त्यति धेरै नकारात्मक हुनु हुँदैन,’ तामाङले भने, ‘विगतमा नेविसंघ सहभागी नहुँदा स्ववियु चुनाव नै गरिएन, त्यसैले अहिले जसरी भए पनि स्ववियु चुनाव गर्नुपर्छ ।’
हरेक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०७३ सालपछि हुन सकेको छैन ।
२०७५ सालमै हुनुपर्ने चुनाव नेविसंघको आन्तरिक विवादका कारण हुन सकेको थिएन । २०७३ सालमा भएको स्ववियु निर्वाचनको इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली अवलम्वन गरिएको थियो ।