काठमाडांैँ: पछिल्लो सामय काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापनकार्य थप चुनौतीको विषय बनेको छ । बन्चरेडाँडामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र निर्माण भइनसकेको र लामो समयदेखि फोहर थुपारिँदै आएको स्थान सिसडोल भरिएकाले कामपालाई फोहर व्यवस्थापन गर्न थप समस्या भएको हो ।
निर्माणाधीन फोहर व्यवस्थापनस्थलमा आगामी चैतदेखि नै फोहर थुपार्न मिल्नेगरी काम भइरहेको जनाए पनि हालसम्मा जम्मा ३० प्रतिशत मात्र काम भएको छ । बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल्डसाइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । निर्माणका लागि भ्याटबाहेक रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ गरिएको सम्झौता भएको थियो ।
निर्माणका लागि अघिल्लो मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको हो । विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । यसरी उत्सर्जन गरिँदै आएको फोहरमा सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर रहेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।
ठेकेदारको लापरवाहीका कारण बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइट एक वर्षको निर्धारित समयमै प्रयोग गर्न नसकिने भएको छ । निर्माणका लागि तोकिएको समय तीन महिना मात्र बाँकी हुँदा ३० प्रतिशत मात्र काम भएको जानकारी दिइयो । ल्याण्डफिल्ड साइटको पूर्वाधार निर्माणमा ढिलाइ भएको भन्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नीतिगत अप्ठ्यारो भए समाधान निकाल्ने बताएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले अहिलेको अवस्थालाई हेर्दा निर्धारित समयमा निर्माणको काम सम्पन्न नहुनेमा पक्का भएको स्वीकार गरेको छ । ल्याण्डफिल्ड साइटको निर्माण सँगसँगै फोहर उत्पादनको स्रोतमा वर्गीकरण गर्ने विधिलाई पनि सँगै प्रवद्र्धन गर्नुपर्ने सरोकार भएका निकायको धारणा छ ।
