विराटनगर: भारत निकासी हुन थालेको साढे ७ करोड मूल्य बराबरको ६ सय टन पाम तेल विराटनगर भन्सारको गोदाममा थन्किएको छ।
भारत सरकारले गत पुस २३ गते सूचना जारी गर्दै पाम तेलको आयातमा रोक लगाएपछि सोही दिन निकासी हुन लागेको पाम तेल व्यवसायीले सीमापारिबाट फर्काएर विराटनगर भन्सारमा ल्याएका थिए। भन्सारको गोदाममा पशुपति खाद्यतेल उद्योग, बाबा भेजिटेबल, स्वस्तिक आयल र श्रीराम रिफाइनरी उद्योगको तेल थन्क्याइएको छ।
‘विराटनगर भन्सारको पुराना गोदाम पाम तेलले ७५ प्रतिशत भरिएका छन्,’ इन्टरमोडल यातायात विकास समितिका प्रमुख गणेश घिमिरेले भने, ‘भन्सारको ८० प्रतिशत काम आइसिपीबाट हुन थालेको छ, तर आइसिपीमा पर्याप्त गोदाम छैनन्। त्यसैले साबिक भन्सारमा रहेकै गोदामबाट काम चलाउनु पर्ने अवस्था छ। साबिक भन्सारमा रहेका गोदाम पनि पामले ७५ प्रतिशत भरिएका छन्।’
आइसिपीमा निर्यातका लागि एक र आयातका लागि अर्कोगरी दुईवटा साना गोदाम छन्। तिनबाट काम चल्ने अवस्था नरहेको घिमिरेले बताए। पुरानो भन्सारका गोदाम पाम तेलले भरिएपछि व्यापार सहजीकरणमा बाधा पुगेको उनले बताए । आइसिपीको उद्घाटन यही माघ ७ गते गरिएको थियो।
विराटनगर भन्सारका सूचना अधिकृत मनिराम पौडेलले व्यवसायीले भारतीय भन्सारको प्रांगणबाट ल्याइएको पाम तेल फिर्ता लैजाने हो भने त्यसको कच्चा पदार्थको पैठारीमा पाएको भन्सार र मूअकर छुटको रकम तिर्नुपर्ने जिकिर गरे। पामतेलको कच्चा पदार्थ क्रुड पाम तेल पैठारी गर्दा भन्सार महसुल १० प्रतिशत र मूअकर लाग्छ। तर व्यवसायीले निकासी गर्ने भन्दै बैंक ग्यारेन्टीमा कच्चा पदार्थको पैठारी गरेका थिए।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा विराटनगर नाकाबाट साढे ४ अर्ब र वीरगञ्ज नाकाबाट साढे ६ अर्ब बराबरको पाम तेल भारत निर्यात भएको तथ्यांक छ।
