काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणाली’ सम्बन्धी विधेयक ल्याउन लागिएको बताएका छन् ।
नेपाल व्यवस्थापन संघको ३९ औं राष्ट्रिय सम्मेलनलाई शुक्रबार राजधानीमा उदघाटन गर्दै उनले चालु संसद्को अधिवेशनबाट सरकारले डिजिटल प्रणालीसम्बन्धी विधेयक दर्ता गराउने जानकारी दिए। ‘सबै काम डिजिटल प्रणालीमा लैजान सरकारले डिजिटलसम्बन्धी धेरै विधेयक ल्याउने तयारीमा रहेको छ,’ उनले भने, ‘डिजिटलबाट काम गर्दा चुस्त दुरुस्त हुन्छ । सेवाग्राहीले पनि चाँडो सुविधा पाउँछन् ।’
डिजिटल प्रणालीलाई नियमन गर्नका लागि ‘पेमेन्ट गेटवे’ बनाउने तयारी गरिरहेको उनले बताए। औद्योगिक क्षेत्रमा आएको क्रान्तिसँगै सूचनाप्रविधिको पनि चुनौती थपिएको उनको भनाइ थियो।मन्त्री खतिवडाले नयाँ सूचना प्रविधिसँग हातेमालो गर्दै अगाडि बढ्न नसके पछाडि परिने उल्लेख गरे।
अनलाइनमार्फत भुक्तानी बढाउन सरकार लागि परेको भन्दै उनले अनलाइनमार्फत भुक्तानी भए कागजी रुपैयाँको प्रयोग घट्ने बताए। ‘हामी अनलाइनबाट नै सबै किसिमका भुक्तानी गर्न प्रणालीको विकासमा रहेका छौं,’ उनले भने, ‘अनलाइनबाट भुक्तानी गर्ने हो भने रुपैयाँ छाप्नका लागि पैसाको पनि बचत हुन्छ ।’
कार्यक्रममा नेपाल पर्यटन बोर्डका व्यवस्थापक सुमन घिमिरेले पर्यटनको क्षेत्र व्यवस्थापन गर्नसके आर्थिक समृद्धि हासिल गर्न सकिने बताए। संघका अध्यक्ष सुशील भट्टले मुलुकको व्यवस्थापन गर्न संघले सरकारलाई सहयोग गर्दै आइरहेको भनाइ राखे। सम्मेलनले तीन वर्षको लागि १७ सदस्यीय नयाँ कार्यसमिति नेतृत्व गर्ने छ । सम्मेलनमा एघार सय प्रतिनिधि सहभागी छन् ।