विराटनगर: विराटनगर नाकाबाट धान र चामलको आयात घटेको छ । चालु आर्थिक वर्षको पुुस मसान्त सम्ममा चामल र धानको आयात घटेको हो।
विराटनगर भन्सारले उपलब्ध गराएको तथ्याङ्कअनुसार विगत छ महिनामा ७३ करोड ३० लाख मूल्यको १६ हजार ८ सय ३३ टन चामल आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४ करोड ४८ लाख मूल्यको २५ हजार ९ सय ९० टन चामल आयात भएको थियो।
त्यस्तै अघिल्लो आव २०७४/०७५ को पुस मसान्त सम्ममा ८९ करोड ९ लाख मूल्यको २२ हजार १ सय ७२ टन चामल आयात गरिएको थियो।कार्यालयका अनुसार चालु आवको छ महिनामा ३१ करोड ८९ लाख मूल्यको १० हजार ९ सय ५५ टन धानको आयात गरिएको छ।
गत आर्थिक वर्षको पुस मसान्त सम्ममा ७४ करोड ७९ लाख मूल्यको २७ हजार ७ सय ९०टन र अघिल्लो आव २०७४/०७५ को छ महिनामा ६५ करोड ४५ लाख मूल्यको २४ हजार ४ सय ५ टन धान आयात भएको छ।
