काठमाडौं : स्थान गृह मन्त्रालयको सभाहल
समय ठिक १ बजे मंगलबार
ठिक १ बजेको थियो, गृहमा आजबाट ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल
टुप्लुक्क गृहको सभाहलमा झुल्किए । कार्यक्रम थियो, ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस, मुल समारोह समितिको बैठक ।
संगसंगैं सचिव, मुख्य सचिवलाई सलाम गर्दै, अलि हँसिलो अनि अलि अलि मलिन अन’हारमा फिसिक्क हाँसो निकाल्दै बोल्न थाले, हजुर आजबाट म जाँदैछु । आजसम्म त मै आइजी हो नी । विदा माँगे, र फेरि ठुला स्वरमा ठट्यौली पारा निकाल्दै भने – मन मनमा थियो होला यो आईजी आज जाँदैछ, किन नबोलेको होला भनेर – हजुरहरुसंग विदा माग्दै गर्दा एक सलाम पनि ठोकिहालेँ । त्यसपछाडि हलमा उपस्थित सबै निजामती कर्मचारीहरु एकैछिन गलल हाँसे ।
त्यसपछि उपस्थित सचिव, सहसचिव, उपसचिवहरुसंग हात मिलाउँदै आफ्नो तोकिएको सिट नियाल्दै कुर्सीतर्फ लागे, जहाँ पहिल्यै थिए, सशस्त्रका बहालवाला आईजी शैलेन्द्र खनाल, नेपाली सेनाका बलाधिकृत रथी सरद गिरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश प्रसाद अधिकारी । उनीहरुको बिचमा गएर खनाल थपक्कै बसे । त्यसपछि फेरि सुरु भयो उनको खासखुस ।
त्यतिञ्जेलसम्म पनि औपचारिक कार्यक्रम (राष्ट्रिय प्रजातन्त्र दिवस, मुल समारोह समितिको बैठक) सुरु भएकै थिएन । समयलाई सदुपयोग गर्दै आईजी खनाल पुनः दायाँबायाँ रहेका समकक्षीसंग झण्डै आधा घण्टा गफिए । यत्तिकैमा प्रधानमन्त्री केपी शर्मा ओली पनि आइपुगे अनि औपचारिक कार्यक्रम झण्डै ४५ मिनेटसम्म चल्यो ।
कर्यक्रमको समापनलगत्तै हलबाट बाहिरिँदै मन्त्रालयको मुख्य प्रांगणमा खनाल फेरि सबै तहका कर्मचारी, बहालवाला सशस्त्रका आईजी, केन्द्रिय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक सैलेश थापाक्षेत्री, महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेल र गृहकै अन्य कर्मचारीहरुसंग हाँसो मजाक गर्दै हात मिलाउँदै आफ्नो गाडी बोलाउँदै थिए । त्यसको केही मिनेटमै गाडी मन्त्रालयभित्र हुइँकिदै आयो र हतार हतार गाडी भित्र उनी छिरे र एकैछिनमा कालो सिसा खोले र सिसाबाट बाहिर हात निकाल्दै सबैलाई बाईबाई गर्दै निक्लिए ।

औपचारिक कार्यक्रममा गृह मन्त्रीलाई वेवास्ता
सभाहलमा औपचारिक कार्यक्रम सुरु नहुँदै पुगेका आईजी खनालले गृह मन्त्री राम बहादुर थापा समक्ष सलाम नगरी आफ्नै कुर्सीमा बसे । अनि कार्यक्रम सकिँदा पनि गृह मन्त्री र खनालबीच कुनै बातचित समेत हुन सकेन । मन्त्री आफ्नो कार्यकक्षमा पुगी सक्दा उनका झण्डावाल गाडी मन्त्रालय बाहिर देखेका खनालले आफू मन्त्रालयबाट बाहिर निस्कँदा एकपटक समेत नभेटी सुरक्षा कार्गेटसहितको गाडीमा निस्किए ।
