काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आपतकालीन अवस्थामा परिचालित हुन र सामाजिक कार्यमा लाग्न युवाहरुलाई निर्देशन दिएका छन् ।
राष्ट्रिय सेवा दलको दिक्षान्त समारोहमा दिक्षीत विद्यार्थीहरुलाई शुक्रबार ललितपुरमा दज्र्यानी चिन्ह प्रदान गर्दे उनले राष्ट्रको गौरव बढाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले राष्ट्र निर्माणमा लाग्न निर्देशन दिएका हुन् ।
राष्ट्रिय सेवा दलका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले विपद् जोखिमका समयमा परिचालित हुन र सामाजिक काममा लाग्न पनि उनले सेवा दललाई निर्देशन दिए ।
उनले सेवा दलबाट सैनिक कला, नेपाली संस्कृतिको संरक्षण, परम्परालाई बचाउनका साथै देशप्रतिको गौरव बढाउन दिक्षीत विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताए ।
युवाहरुको चौतर्फी विकासको लागि सरकार प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्रीले समृद्ध नेपाल सुखी नेपालीको सरकारी आंकाक्षा पूरा गर्न युवाहरुको भूमिका आवश्यक रहेकोमा जोड दिए ।
उनले राष्ट्र निर्माणको प्रमुख स्तम्भ युवाहरु भएकाले राष्ट्रिय सेवा दललाई सुदृढीकरण र जनस्तरसम्म पुर्याउन सरकारले सहयोग गर्ने पनि बताए ।
एक सय दिनको तालिममा विभिन्न विद्यालयका सात हजार सात सय विद्यार्थी सहभागी थिए ।