बुटवल : बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घर नम्बरिङ गरेको छ ।
विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गर्दै पूरा भएका घरमा नम्बर टाँस्ने काम समेत शुरू भइसकेको छ ।
बुटवल उपमहानगरपालिकाको ६१ औं स्थापना दिवसका अवसरमा प्रमुख शिवराज सुवेदीले ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको घरको नम्बर प्लेट टाँसेर शुभारम्भ गरेका छन ।
बुटवल वडा नम्बर ८ राजमार्ग चौरहास्थित प्रहरी सपिङ कम्प्लेक्समा ‘ए००२ २०५६’ नम्बरको निलो टिनको नम्बर प्लेट टाँस्दै नम्बरिङको शुभारम्भ गरे ।
त्यसअवसरमा प्रमुख सुवेदीले उपमहानगरको वस्तुगत विवरणसँगै प्रत्येक घरको डिजिटल प्रविधिबाट नम्बरिङले योजना तर्जुमा, कार्यान्वयन र थप अध्ययनका लागि उपयोगी हुने बताए ।
सेवाग्राहीलाई प्रवाह गरिने सेवा, उपमहानगरका सेवा केन्द्र्रहरू, सार्वजनिक क्षेत्र, सडक, विद्यालदेखि वन क्षेत्र र ती स्थानदेखि आफ्नो घर कहाँनिर पर्छ भनेर हेर्न मिल्ने गरी ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको प्रमुख सुवेदीले बताए ।
उपमहानगरमा सुवेदी निर्वाचित भएपछि गरिएको पहिलो निर्णयमध्येको यो अर्को उपलब्धि हो ।
नीति तथा कार्यक्रममै यसलाई समावेश गरेर व्यवस्थित रुपमा कार्यसम्पादन गर्नेमा पनि बुटवल नै मुलुकमा पहिलो मानिएको छ ।
मोबाइल एपमार्फत उपमहानगरका सेवा प्रवाहको जानकारी लिने र ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गर्ने भन्दै पहिलो निर्णय गरिएको थियो ।
भौगोलिक अध्ययनका विज्ञ सम्मिलित परामर्शदाता छनोट गर्दै १ देखि ११ वडाका सबै घरको ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ पूरा गरिएको हो ।
अहिले काम पूरा भएका वडाहरू उपमहानगरमा सबैभन्दा धेरै जनसंख्या रहेका हुन् । अब दोस्रो चरणमा वडा नम्बर १२ देखि १९ मा ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ शुरू गरिने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ भएको र कर पनि वडा कार्यालयबाटै तिर्ने व्यवस्था मिलाइएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बुटवल उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउन अग्रसर भइरहेको बताए ।
बुटवल उपमहानगरपालिकाको वडा नम्बर ६, ७ र ८ नम्बर वडाका घरमा नम्बर प्लेट टाँसिएको छ ।
हालसम्मकै आधुनिक वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ गरिएपछि अब कुन घर कुन रोडको कति नम्बरमा पर्छ भन्ने जानकारी जीपीआरएस सिस्टमबाट थाहा पाउन सकिने छ । डिजिटल नम्बरिङपछि बारुण यन्त्र, एम्बुलेन्स, सुरक्षा व्यवस्थापनका काममा सहजता हुने र पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सक्ने गरी भौगोलिक सूचना प्रणालीको विकास गरिएको उपमहानगरले जनाएको छ ।
बुटवलको विकासमा जनसहभागिता उदाहरणीय मानिन्छ । उपभोक्ता समितिमार्फत हुँदै आएका पूर्वाधार विकासका कामलाई प्रभावकारी बनाउन बुटवलले नेपाली भाषामै लागत स्टिमेट बनाउन शुरू गरेको छ । यो काम प्रदेशमै पहिलो हो ।
प्राविधिक भाषाले अलमलमा पर्ने, प्रक्रिया नबुझ्दा झन्झट मान्ने जस्ता समस्या देखिएपछि नगर प्रमुखले नै उपभोक्ता समितिका कामलाई प्रभावकारीसँगै गुणस्तरीय बनाउन यस्तो उपाय शुरू गर्न प्राविधिकलाई निर्देशन दिए ।
बुटवल उपमहानगरपालिकाले अहिले इलेक्ट्रोनिक्स विल्डिङ परमिट सिस्टममा भवनको विवरणलाई अनलाइनमार्फत व्यवस्थित गरिरहेको छ ।
