काठमाडौं : काठमाडौँ उपत्यकामा विजुलीको तार भूमिगत गर्ने कामको शुभाराम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन ।
आज बिहान ९ बजे काठमाडौंको महाराजगञ्जस्थित प्रहरी तालिमकेन्द्र अगाडिबाट यो कामको शुभाराम्भ गर्दै प्रधानमन्त्री ओलीले ठेकेदार कम्पनीलाई सन २०२१ अक्टोबर महिनाभित्र यो काम सम्पन्न गर्न निर्देशन दिएका छन ।
यो अभियान भरपर्दो विद्युत वितरणको एउटा नयाँ आयाम भएको भन्दै यसले काठमाडौंको सौन्दर्यता बढाउने र विद्युतका कारण हुने जोखिम अन्त्य हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले भने,’ सरकार अहिले विद्युत उत्पादन वृद्धिका साथै जनतामा विद्युतको पहुँच पुर्याउने लक्ष्यका साथ अगाडि बढेको छ । अबको २,३ वर्षमा सबै जनता विद्युतको पहुँचमा पुग्ने छन ।’
देश विद्युत निर्यातको दिशातर्फ पनि अगाडि बढेको भन्दै प्रधानमन्त्री ओलीले एमसीसी परियोजना अन्तर्गत विद्युत प्रशारण लाइनको विकासबाट देशको विद्युत निर्यातको लक्ष्यलाई थप महत्पवपूर्ण योगदान गर्ने बताए ।
देश विकास सबैको साझा अभिभारा र कर्तव्य भएकोले सबै एकजुट भइ अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘सरकारको ध्यान अहिले सुशासन र विकासमा केन्द्रित छ । तर कोही कोही व्यक्तिहरु सरकारले गरेको विकास देखेर रोइकराइ गरिरहेका छन ।’
विद्युतको तार भूमिगतका लागि कुल ठेक्का सम्झौता रकम करीब ७ अर्ब रहेको छ ।
एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानीमा यो परियोजना सञ्चालन हुनेछ ।
पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क बितरण केन्द्र अन्तर्गतका तार भूमिगत गरिने प्राधिकरणले जनाएको छ।
पहिलो चरणमा दुई वटा वितरण केन्द्र अन्तर्गत ९० हजार ग्राहकको घरसम्म तार अन्डरग्राउन्ड गरिसकेपछि अरु ठाउँमा पनि काम थाल्ने प्राधिकरणको योजना छ।
यस भूमिगत प्रणालीमा अप्टिकल फाइबरसमेत रहने हुनाले टेलिफोन र अन्य केवलका तारहरु समेत भूमिगत हुने छ ।