काठमाडौँ: “मन्त्रीज्यू विद्युत्भार कटौतीमुक्त भनिएको छ । तर बिजुलीको लाइन गइरहेकै हुन्छ । तलमाथि भइरहँदा विद्युतीय सामग्री बिग्रने गरेको छ । समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा फोन ग¥यो, कहिल्यै फोन उठ्दैन । साह्रै समस्या भएको छ । फोन उठे पनि कुनै कर्मचारीले सुनुवाइ गर्दैैनन्” यो भनाइ हो वीरगञ्जका शिवनारायण महतोको ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हरेक शुक्रबार अपराह्न १२ बजेदेखि १३ बजेसम्म नागरिकका गुनासा सम्बोधन गर्न पैसा लाग्ने र पैसा नलाग्ने दुई वटा हटलाइन टेलिफोन नम्बर सञ्चालन गर्ने खबर सुनेपछि महतोले फोन गरेर मन्त्रीलाई आफ्ना गुनासा सुनाए ।
महतोले मन्त्री पुनसँग समस्या समाधानका लागि आग्रह गरे । उनको समस्या सुनेपछि मन्त्री पुनले प्राधिकरण वीरगञ्ज वितरण केन्द्रलाई समस्या समाधानका लागि निर्देशन दिने र समस्याको समाधान हुने प्रतिबद्धता जनाए ।
मन्त्रीको भनाइलगत्तै महतोले खुशी हुँदै भने “मन्त्रीज्यू यहाँलाई धन्यवाद छ । समस्या समाधान भए धेरै आभारी हुने थिए ।”
नागरिकका गुनासा सुन्ने र प्रत्यक्षरुपमा समाधान गर्ने ध्येयका साथ मन्त्री पुनले आजदेखि हरेक दिन शुक्रबार प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरेका छन् ।
मन्त्रालय मातहतका निकायमा रहेका गुनासा सम्बोधन गर्न उपभोक्तासँग प्रत्यक्ष टेलिफोन संवाद शुरु गरिएको मन्त्री पुनले जानकारी दिए।
नागरिकले पैसा नलाग्ने टेलिफोन नम्बर ११५१ र पैसा लाग्ने फोन नम्बर ०१–४२००६४१ र ४२ मा प्रत्यक्षरुपमा मन्त्री पुनसँग संवाद गर्न सकिन्छ ।
मन्त्रालय मातहतका नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागलगायत निकायको सेवाबारे गुनासो सुनेर उपभोक्तालाई दिने सेवा तथा सुविधालाई प्रभावकारी बनाउन उनले प्रत्यक्ष संवाद शुरु गरिएको हो ।
मन्त्री पुनलाई तेह्रथुमबाट अर्जुन ढुंगानाले फोन गरेर तमोर जलाशयुक्त आयोजनाको मुआब्जालगायतका विषयमा जिज्ञासा राख्नुभयो । यस्तै दुबईबाट रेखा गैरेले फोन गरेर वैदेशिक रोजगारीमा रहेका युवालाई कहिलेसम्म फर्काउनुहुन्छ र भ्रष्टाचार कहिलेसम्म नियन्त्रण गर्नुहुन्छ भनेर जिज्ञासा राखे ।
यस्तै काभ्रेपलाञ्चोकबाट नारायण घिमिरेले फोन गरेर विद्युत् प्राधिकरणका कार्यरत ज्यालादारी कर्मचारीको समस्या कहिले र कसरी समाधान गर्नुहुन्छ भनेर प्रश्न गरे ।
मन्त्री पुनलाई टेलिफोन गर्नेमा नमोबुद्ध–४ काभ्रेपलाञ्चोकमा शिव बस्नेत पनि एक थिए । उनले नमोबुद्धमा खानेपानीको चरम अभाव रहेकाले ट्रान्सफर्मरलगायतका समस्या समाधानका लागि आग्रह गरे ।
मन्त्री पुनले न्यौपानेको समस्या समाधानका लागि प्राधिकरणको बनेपा वितरण केन्द्रलाई तत्काल निर्देशन दिने र समस्या समाधान हुने विश्वास दिलाए ।
संखुवासभाबाट जानीकुमार राईले मन्त्री पुनलाई टेलिफोन गरी भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनामा स्थानीयले रोजगारी पाउने वातावरण निर्माणका लागि आग्रह गरे ।
गुल्मी रेसुङ्गाका धनेश्वर भट्टराईको गुनासो भने प्राधिकरणको पोल सार्नुपर्नेमा केन्द्रित थियो । उनले पोल सार्न र प्रसारण लाइन विस्तारमा ध्यान दिन मन्त्री पुनसँग अनुरोध गरे ।
अधिकाशं समस्या प्राधिकरणसँग सम्बन्धित आएका थिए भने केही विषयमा भने नीगित रुपमा नै निर्णय गर्नुपर्ने समस्या टेलिफोन गर्नेले मन्त्री पुनसँग राखेका थिए ।
पहिलो दिन नै नागरिकको तहबाट आफूलाई उत्साहित बनाएको र जनताको समस्या बुझ्ने अवसर समेत प्राप्त भएको मन्त्री पुनको भनाइ छ । रासस