राजविराज : सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज जनाएको छ ।
सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुनेक्रममा टेम्पो दुर्घटना परेको थियो । दुर्घटनाका घाइतेको विभिन अस्पतालमा उपचार भैराखेको प्रहरीले जनाएको छ ।
यसैबीच मोटरसाइकल दुर्घटनामा परी बारामा तीन जनाको मृत्यु भएको छ ।
लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
उहाँले लङ्गडाचोकबाट बाजोपटीतर्फ जाँदै गरेको ना२३प २७४६ नंको मोटरसाइकल डोरा खोलामा दुर्घटना हुँदा पतरौता नगरपालिका–८ बस्ने २२ वर्षीय मोटरसाइकल चालक विजय यादव र सोही वडाका ५५ वर्षीय रामेश्वर यादवको समेत घटनास्थलमा सोमबार मृत्यु भएको जानकारी दिनुभयो ।
मृतक तीनै जनाको शव जिल्ला अस्पताल कलैयामा राखिएको र परीक्षणपछि अफन्तजनलाई बुझाउने प्रहरीले जनाएको छ । यसअघि डोरा पुलमा दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ ।
त्यस्तै भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फूलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा१क ६२५५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको ना५७प १९ नंको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते दुवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।