काठमाडौँ :दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले नेदरल्यान्ड्सलाई २१७ रनको चुनौती दिएको छ ।
नेदरल्यान्ड्सस्थित एमस्टलभिन मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल बनायो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका उनले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन जोडेका हुन् । त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पनि अर्धसतक प्रहार गरे । ६९ बल खेलेका उनले दुई छक्का र ६ चौका प्रहार गरे ।
सुवास खकुरेल १९, दीपेन्द्रसिंह ऐरी १९, अरिफ शेख १६, उपकप्तान ज्ञानेन्द्र मल्ल १३, सन्दीप लामिछाने ८, अनिलकुमार साह ४, ललित भण्डारी ४, रोहितकुमार पौडेल ६ तथा बसन्त रेग्मीले एक रनमात्र जोडे ।
बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन विकेट लिए भने पिटर सिलर र माइकल रिप्पोनले दुई/दुई विकेट लिए ।
नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पनि दबाब छ । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो ।