काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन्।
उनले राजीनामा दिइसकेको अनौपचारिक जानकारी सभामुख अग्नि सापकोटाले संसदलाई गराएका छन्।
प्रमुख विपक्षी दल कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटालाई तुरुन्त बर्खास्ती र छानबिन माग गर्दै बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो।
त्यसपछि सभामुख सापकोटाले मन्त्रीको राजीनामा दिइसकेको जानकारी दिएका हुन्।
‘मलाई औपचारिक पत्र त आएको छैन। तर अनौपचारिक जानकारी आएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ,’ सभामुख सापकोटाले संसदमा भनेका थिए।
तर, कांग्रेसले राजीनामा मात्र होइन, उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने तर्क गर्दै संसद अवरुद्ध गरेका छन्।
कांग्रेसले आजै राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गरेको थियो।
बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्न कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड घुस माग्दै वार्तालाप गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
निर्धारित समयभन्दा केही घन्टा ढिला सुरु भएको बैठकमा कांग्रेस सांसद पुष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटालाई बर्खास्त गरी उनलाई कारवाही गर्ने प्रक्रिया शुरु नगरेसम्म संसद चल्न नसक्ने बताइन्।