काठमाडौं : सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाउन थालेको छ ।
यसैक्रममा शुक्रबार सुन तोलामा फेरि ५०० रुपैयाँले बढेर ७८ हजार १०० रुपैयाँ पुगेको छ ।
यस्तै, तेजावी सुनको भाउ पनि तोलाको ५०० रुपैयाँले नै बढेर ७७ हजार ८०० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ ।
चाँदी तोलाको ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भाउ चुलिएपछि त्यसको सीधा प्रभाव नेपाली बजारमा पनि परेको हो । किन भने हाम्रो सुन बजार पूरै आयातमा निर्भर छ । विदेशमा हुने भाउ घटबढ अनुसार नै यहाँ पनि मूल्य निर्धारण गरिन्छ । पछिल्लो समय सुनको मूल्य चुलिनुमा कोरोना भाइरसलाई कारण देखाइएको छ ।
यस भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा सुरक्षित क्षेत्र खोज्दै लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन् ।