काठमाडौं : केही समयअघि मात्रै नेकपाले सार्वजनिक गरेको आचारसंहिता स्वंय सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उल्लंघन गरेका छन ।
ओलीले आफ्नो ६९ औं जन्मदिन मनाउने क्रममा तेह्रथुमको आठराई गाउँपालिकामा सार्वजनिक विदा दिने र भव्य रुपमा केक काटेर मनाउने शैलीले नेकपाको आचारसंहिताको खिल्ली उडाएका छन।
नेकपाले एक महिनाअघि सार्वजनिक गरेको आचार संहिताको बुँदा नम्बर २ का अनुसार ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गनु्र्रपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सिमित गर्नुपर्छ ।’ भन्ने रहेको छ।

आचारसहिताले जन्मदिन घरपरिवारमा सिमित राख्नुपर्ने उल्लेख गरेपनि स्वयं पार्टी अ्रध्यक्षबाट यसको ठाडो उल्लंघन हुँदा नेतापंक्तिमा यसको पालना कसरी हुन सक्ला भन्ने प्रश्न खडा भएको छ ।
यही आचारसंहित विपरीत कार्य गरेकामा प्रधानमन्त्री ओली यतिवेला सामाजिक सञ्जालमा ट्रोल भएका छन ।
आफ्नो बोलीको खिल्ली आफै उडाउँदा ….
यसैबीच तेह्रथुममा नेपाल नक्सा आकारमा बनाइएको केक काटेर जन्मदिन मनाएका ओलीलाई धेरैंले व्यंग्य प्रहार गरेका छन । सामाजिक सञ्जालमा २०७३ मंसिर २० गते तत्कालिन प्रमूख प्रतिपक्षी दलका नेता रहेका केपी ओलीको भाषण पनि चर्चामा रहेको छ ।
नेता ओलीले भनेका थिए, ‘संघीयताकै कारण रुस टुक्राटुक्रा भएको हो। अहिले संघीयताको नाममा देशलाई बिगार्ने काम भएको छ, देश कसैको जन्मदिनको केक होइन टुक्राटुक्रा पारेर बाँड्न।’
आफू प्रतिपक्षमा रहँदा गरेको भाषणले ओलीलाई सामाजिक सञ्जालमा व्यंग्य हान्दै सुदर्शन थापा लेख्छन , ‘यस्तालाई भनिन्छ आफ्नो जिउमा भैंसी हिडेको नदेखने अरुकोृ जिउमा जुम्रा हिडेको देख्ने ।’
अभिनेत्री रेखा थापाले ट्विट गरेकी छिन,’ नियतवश नहोला, तर लक्षण गतिलो छैन । छातीमा देशको जिम्मेवारीको विल्ला र हातले देशको नक्सा काटेको देख्दा अचम्म लाग्यो । देशको प्रधानमन्त्रीको अनुहारमा पनि सन्देश हुन्छ तर यो केक कटाइको सन्देश बुझिएन ।’
त्यस्तै नरेश गिरी आफ्नो स्टाटसमा लेख्छन, ‘आफ्नो जन्मदिन मनाउन यो नेपालको नक्साको आकारमा बनाईएको केक काठमाण्डौं बालुवाटार बिग बेक केक पसलमा तयार पारी हेलिकप्टर चार्टर गरेर आठराई तेह्रथुम पुर्याई प्रम ओलीले नेपालको नक्सा आकारको केक टुक्रा टुक्रा पार्दै काटेर खाएका रहेछन्। फोटोमा साथमा पूर्वसभामूख नेम्बांग र यति कम्पनीकी एक महिलाले केक मिलाउदै गरेको पनि देखिएको छ।’
त्यसैगरी ओलीकै पूर्व प्रेस सल्लाहकार गोपाल खनालले फेसमुखमा स्टाटस लेखेका छन, ‘यो नेपालको नक्सा मिल्दोजुल्दो केकको अवधारणा कसले ल्याये ? के सोचेर ल्याइयो ? किन यस्तो भइरहेको छ ? चिन्ता लाग्न थाल्यो ।’