काठमाडौं : प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज सोमबार मनाईँदै छ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
बराह वर्ष पूरा भई सोमबारदेखि मुसा वर्ष सुरु हुने शेर्पा जातिको संस्कृतिका सम्बन्धमा खोज गरिरहेका टीका शेर्पाले जानकारी दिए ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता शेर्पाले सुनाए ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।
पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।
यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएकी छन् ।
ग्याल्बो ल्होसार नेपाली संस्कृतिकै एक महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै उनले यस्ता चाडपर्वले विविध संस्कृति अँगालेको नेपालीहरुका बिचमा सहिष्णुता, पारस्परिक सद्भाव र सहयोग अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्नेछ भन्नेमा विश्वास व्यक्त गरेकी छन् ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ग्याल्बो ल्होसार पर्वले आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्दै देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन ।
सो पर्वका उपलक्ष्यमा आज उनले शुभकामना सन्देश जारी गर्दै नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएकाले अनेक जातीय समुदायसँगको सामिप्यता र सम्मानजनक सामाजिक सद्भाव नेपाली समाजको विशेषता हो भनेका छन ।
“देशको यही विविधताभित्रको एकता नै नेपाल र नेपालीको मौलिक पहिचान हो । यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।” सन्देशमा भनिएको छ ।