काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो सात महिनामा वस्तु आयात घटेको छ भने निर्यात व्यापार उल्लेख्य बढेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार सात महिनामा कूल ८ खर्ब 3 अर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को सोही अवधिको तुलनामा ३.५६ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यस अवधिमा निर्यात व्यापारमा भने उल्लेख्य वृद्धि भएको छ । तथ्यांक अनुसार चालु आवको सात महिनामा ६४ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.४१ प्रतिशतले बढी हो ।
तथ्यांक अनुसार आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको व्यापार घाटामासमेत सुधार सुधारिएको छ । यस अवधिमा कूल व्यापार घाटा ७ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको रहेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा दुई महिनामा व्यापार घाटा ५.३३ प्रतिशतले कम भएको छ ।
यस वर्ष क्रमशः निर्यात वृद्धि र आयातमा भएको संकुचनले व्यापार घाटामा सुधार आएको हो ।
नेपालको कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सामा समेत देखिने गरी वृद्धि भएको छ ।
तथ्यांक अनुसार यस वर्ष सात महिनाको अवधिमा कूल वैदेशिक व्यापारमा निर्याको हिस्सा ७.४८ प्रतिशत रहँदा आयातको हिस्सा ९२.५ २ प्रतिशत रहेको छ ।
नेपालको कूल १४७ भन्दा बढी देशसँग वैदेशिक व्यापार रहेको छ । त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा भारत र चीनसँग रहेको छ । चालु आवको पहिलो सात महिनामा भारतबाट ४ खर्ब ९६ अर्ब ४८ करोड रुपैयाँ बराबरका सामान भित्रँदा भारततर्फ ४५ अर्ब३९ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।
चीनबाट १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ भने १ अर्ब रुपैयाँ बराबरको वस्तु मात्र निर्यात भएको छ ।