काठमाडौं : नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गा २०६९ सालमा तत्कालिन प्रधानमन्त्री र ट्रष्ट संचालक समितिका अध्यक्षबाट हिनामिना भएको पाइएको छ ।
आज मंगलबार ट्रष्टका सञ्चालक समितिका अध्यक्ष ईश्वर पोखरेलले नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापन सम्बन्धि तथ्य विवरण सार्वजनिक गर्दै तत्कालीन नेपाल टष्टका संरक्षक प्रधानमन्त्री डा. बाबराम भट्टराई तथा नेपाल ट्रष्ट संचालक समितिका अध्यक्ष विजयकुमार गच्छदार रहेको अवधिमा मिति २०६९ कात्तिक ०२ गते बसेको मन्त्रिपरिषद विधेयक समितिको निर्णयानुसार नेपाल ट्रष्टको कार्यालयको स्वामित्वको पुरै १७२ रोपनी १५ आना जग्गा मोही तथा निजको हकवालाको नाममा नामसारी भएको जनाएका छन ।
ट्रष्टको सम्पत्तिबारे सार्वजनिक गरिएको पुस्तकमा ट्रष्टको नाममा साढे २१ हजार रोपनी जग्गा रहेको सार्वजनिक भएको छ । यसको स्वामित्वमा १२ जिल्लामा कुल २१ हजार ५६२ रोपनी, ४ आना २ पैसा अनि १ दाम जग्गा रहेको पोखरेलले जानकारी दिएका छन ।
साथै उनले ट्रष्टको नाममा रहेको १ सय ७२ रोपनी जग्गा हिनामिना भएको स्वीकार गरेका छन्। यसबाहेक अरु कुनै पनि सम्पत्ति अपचलन नभएको मन्त्रीसमेत रहेका अध्यक्ष पोखरेलले दाबी गरेका हुन्।
पोखरेलले मातातीर्थको ५९ रोपनी १ आना ३ दाम, थानकोट महादेवस्थानको १ सय २ रोपनी ३ दाम, सतुंगलको १ रोपनी ६ आना १ दाम, र बालाजु ९इचंगु०को १० रोपनी ६ आना १ दाम गरी कुल १ सय ७२ रोपनी १५ आना जग्गा नक्कली मोही खडा गरी कानुनविपरीत नामसारी भएको पाइएको स्वीकार गरेका हुन्।
‘नेपाल ट्रष्टको सम्पत्ति कहीँकतै कानुनविपरीत प्रयोग र संचालन भएको छैन। १ सय ७२ रोपनी जग्गा कुन सरकारको पालामा कसरी नक्कली मोही खडा गरेर नामसारी भएको छ भनेर हामीले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगलाई जानकारी गराएका छौं,’ उनले भने, ‘नेपाल ट्रष्टले भर्खरै मात्र त्यो थाहा पाएर औपचारिक ढंगले उजुरी गरेका छ।
हामीले उजुरी गर्ने ठाउँ त्यही आयोग हो। आयोगले त्यो बेला कुन ढंगले सरकारले निर्णय गरेको थियो भनेर लेखी पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ,’ पोखरेलले भने।
आज सार्वजनिक भएको नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापन सम्बन्धि तथ्य विवरण पुस्तिका तलको लिंकमा हेर्नुहोला :
नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापन सम्बन्धि तथ्य विवरण