काठमाडौं : नेकपाले अन्ततः संविधान संशोधनका लागि गठित माधव कुमार नेपाल संयोजकत्वको कार्यदल भंग गरेको छ ।
नेकपाले गोप्य ढंगले बनाएको उक्त कार्यदलमा राखिएका सदस्यद्वय सुवास नेम्वाङ र खिमलाल देवकोटाले समेत अमुक व्यक्तिको अभिलासा पूरा गर्न संविधान संसोधन गर्ने कार्यदलमा नबस्ने बताएपछि नेकपा यस्तो निर्णय गरेको हो ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल क्रियाशील नहुने जानकारी दिएका छन ।
‘चर्चामा आएको संविधान संशोधनको लागि गृहकार्य गर्न बनाइएको कार्यदल नरहेको, क्रियाशील नहुने जानकारी पनि गराउने निर्णय भएको छ,’ श्रेष्ठले भने ।
बामदेव गौतमको इच्छा पूरा गर्ने प्रयत्नस्वरुप शनिवारको नेकपाको सचिवालय बैठकले ३ सदस्यीय कार्यदल बनाएको थियो । तर जनस्तरबाट समेत यसको चौतर्फी विरोध भएपछिे कार्यदल भंग गर्न नेकपा बाध्य भएको हो ।