काठमाडौँ: सवारी दुर्घटनामा गम्भीर घाइते भएका माले महासचिव सीपी मैनालीसहित सबै घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुलाई बिहीबार अपरान्ह काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका उनीहरुको महोत्तरीस्थित जनसेवा अस्पतालमा उपचार भएकोमा थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।
बिहीबार बर्दिबासस्थित रातुको पुलमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको थियो ।
दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाईते भएका छन् ।
दुर्घटनामा सीपी मैनाली र बुहारी पुजा गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईले जानकारी दिए ।
मैनालीको टाउको र शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ भने बुहारीको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।
उनीहरुको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा थप उपचार भइरहेकाे बताइएको छ ।