काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर आगामी चैतको पहिलो साताभित्र नियुक्त गरिने जनाएका छन।
हालका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिनु अगावै नयाँ गभर्नर नियुक्त हुने उनले जानकारी दिएका छन ।
सञ्चार मन्त्रालयको समेत कार्यभार सम्हालेका मन्त्री खतिवडाले मन्त्रीपरिषदको निर्णयबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अहिलेसम्म गभर्नर नियुक्तिमा एक महिना अघि नै नियुक्ति दिने चलन नभएको बताए ।
उनले भने, “म गभर्नर हुँदा पनि आफ्नो कार्यकाल सकिने भोलिपल्ट मात्र नयाँ गभर्नरको नियुक्ति भएको हो । समयभित्रै नियुक्त हुन्छ ।”
राष्ट्रियसभा सदस्य हुने नहुनेबारे सोधिएको प्रश्नमा मन्त्री खतिवडाले भने, “यही फागुन २१ गते राष्ट्रियसभाका सदस्यको सपथ कार्यक्रम राखिएकाले सो अवधिसम्म प्रतिक्षा गर्न आग्रह गर्दछु ।”