काठमाडौँ: कोरोना भाइरसको बढ्दो प्रभावलाई मध्यनजर गर्दै नेपालले आयोजना गर्न लागेको भ्रमण वर्ष लक्षित प्रचारप्रसारका कार्यक्रमहरु हाललाई स्थगित गरिने भएको छ।
नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्चमा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रमहरू हाललाई स्थगन गर्ने निर्णय भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा आज बसेको सरोकारवाला निकायका उच्च अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो।
कोरोना भाइरसको प्रभाव न्यूनीकरण गर्न रोकथामको क्रममा विभिन्न मुलुकले अवलम्बन गरेको उडान सम्बन्धी रणनीतिको अध्ययन र विज्ञसमेतको छलफलका आधारमा नेपालले उडान रोक्न पर्ने वा नपर्ने सम्बन्धमा दुई दिनभित्र नागरिक उड्डयन प्राधिकरणले संक्षिप्त प्रतिवेदन मन्त्रालयलाई पेश गर्नेछ।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि लिनुपर्ने तत्कालीन नीति तथा कार्यक्रमको सम्बन्धमा नेपाल पर्यटन बाेर्ड र नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयले एक हप्ताभित्र संक्षिप्त प्रतिवेदन तयार पार्नेछ।
