काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९(कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका योजना, रणनीति तथा क्रियाकलाप सार्वजनिक गरेको छ ।
मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमण फैलिन नदिन गरिएको तयारीबारे जानकारी गराएको हो।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस प्रभावित मुलुकमा नेपालबाट हुने हवाई उडानहरू महामारीको अवधिभरि बन्द गर्ने योजना बनाएको जानकारी दिए।
मन्त्रालयले सार्वजनिक गरेको रणनीतिमा ‘पकेट एरिया लक डाउन’ गर्ने उल्लेख छ। जसमा बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला प्रदेशसमेत रहने छन्।
त्यसैगरी, कोभिड–१९ प्रभावित मुलुकहरूमा नेपालबाट हुने हवाइ उडान महामारी अवधिभरको लागि स्थगन गरिने सरकारको रणनीति छ।
स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाका बन्द गर्ने, अत्यावश्यक सामाग्रीबाहेक अन्य वस्तुको आयात–निर्यात पनि महामारी अवधिभर बन्द उल्लेख गरिएको छ।
देशभरका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा संक्रमितको प्रभावकारी उपचारका लागि जनशक्ति, आवश्यक उपकरण र प्रविधिको अधिकतम परिचालन गर्ने सरकारको योजना छ। आवश्यक परे फिल्ड तथा मोबाइल अस्पतालको स्थापना गरी उपचार गरिनेसमेत योजनामा छ।
