काठमाडौँ: दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का राष्ट्र/ सरकार प्रमुखहरू ६ वर्षपछि एकै ठाउँमा देखिए।
सन् २०१४ मा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनजस्तो उनीहरू भौतिक रूपमा होइन इन्टरनेटका माध्यमबाट जोडिए।
विश्व महामारीका रूपमा फैलिएको कोभिड- १९ विरूद्ध लड्ने साझा रणनीति बनाउनका लागि यो भिडिओ कन्फरेन्सको प्रस्ताव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। त्यसैले कन्फरेन्समा पनि उनैले नेतृत्व लिए। सुरूमा उनले भारतमा कोरोना भाइरसको अवस्था र सरकारले गरिरहेका रोकथाम र उपचारका प्रयासबारे जानकारी दिए।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण संसारभरि अहिलेसम्म झन्डै ६ हजार मानिसको ज्यान गएको छ। संक्रमित र मृतकको संख्यालाई आधार मान्दा दक्षिण एसिया कम प्रभावित क्षेत्र यहाँ। यो भाइरसबाट भारतमा २ जनाको मृत्यु भएको छ। यो क्षेत्रमै संक्रमितको संख्या डेढ सयभन्दा कम छ। त्यसमध्ये पनि १ सय ७ संक्रमित भारतमै छन्।
‘तयार हुनुस् तर नआत्तिनुस् भन्ने हाम्रो मन्त्र हो,’ मोदीले भने।
त्यसपछि अरू सदस्य राष्ट्रका नेताहरूले आफ्नो देशको अवस्थाबारे जानकारी दिए।
भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ स्थापना गर्ने प्रस्ताव राखेको छ ।
कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आफ्नै पहलमा आइतबार भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोष स्थापना गर्ने प्रस्ताव राखेका छन् । उनले कोषमा भारतले तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिने घोषणा पनि गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेसम्म कोरोना भाइरस नदेखिएको र संक्रमण नफैलियोस् भनेर सरकारले चालेका कदमहरूबारे जानकारी गराए।
मिर्गौला प्रत्यारोपण गरेर दुई दिन अघिमात्र डिस्चार्ज भएका प्रधानमन्त्री ओलीको स्वर भासिएको थियो।
