काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक आइतबार बोलाएका छन् ।
मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो ।
सो बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । हाल सोही समितिले सबै कार्ययोजना बनाएर काम गरिरहेको छ । यसबीचमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधनसमेत गरिसकेका छन् ।
सरकारले अत्वाश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेका बेला सो निर्णय कार्यन्वयनका सन्दर्भमा उच्चस्तरीय समितिले अलग अलग कार्यदलसमेत बनाइसकेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकमा हालसम्मको कामको समीक्षा हुने बताइएको छ ।