काठमाडौँ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसविरुद्ध जुध्न सरकारले बनाएको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउने भएका छन ।
हिजो आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोष स्थापनाको निर्णय गरेको थियो । सो कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका हुन । उनले संघीय संसद् सचिवालयको आर्थिक शाखालाई पत्रमार्फत आफ्नो एक महिनाको तलब कोषमा जम्मा गरिदिन निर्देशनसमेत दिए ।
अध्यक्ष तिमिल्सिनाले सरकारको कोष बनाउने निर्णयको स्वागत गर्दै विश्वमा देखिएको सन्त्रासमा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरे । उनले सरकारले कोरोनाबाट बच्नका लागि दिएका निर्देशनहरु पालना गर्न सबैलाई आग्रहसमेत गरेका छन ।
यसैबीच सांसद महेश बस्नेतले कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन ।
सांसद बस्नेतले आफ्नो सांसदबापत सरकारी सेवाबाट प्राप्त भएको एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा आज गरेका हुन । उनले सरकारको निर्देशनलाई अवज्ञा नगरी, आतङ्कित नभई सेल्फ क्वारेन्टाइनमा बस्न सबैलाई आग्रहसमेत गरे ।
सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको बताउँदै उनले कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित हुने नभई सावधानी अपनाउन आम नेपाली नागरिकलाई आग्रह गरे
।