काठमाडौँ: सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश ‘लकडाउन’ गर्ने निर्णय गरेअनुसार चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ सम्म देशभरका सबैले यो आदेश कार्यान्वयन गर्नुपर्नेछ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।
कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।
सरकारी निर्णयअनुसार अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
यसैगरी स्वास्थ्य, सुरक्षा, खाद्यबस्तु, खानेपानी, विद्युत, दूरसञ्चार, दूध, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यकबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीलाई आवश्यकता पर्दा तत्काल उपस्थित हुनेगरी बिदा दिने निर्णय गरिएको छ ।
निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई पनि बिदा दिने निर्णय सरकारले आदेश जारी गरेको छ । यो आदेश औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगको हकमा भने लागू हुने छैन ।
यस आदेशको कार्यान्वयनका लागि देशभरका प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशसन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गरिने सरकारले निर्णय गरेको छ ।
फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।। त्यसमा पनि एकजना निको भइसकेका छन् ।
संक्रमण अरु फैलिन नदिने उद्देश्यका साथ सरकारले लकडाउनको निर्णय गरेको हो ।