काठमाडौँ: काठमाडौं महानगरपालिकाले निम्न आय भएका ज्यालादारी परिवारको निम्ति राहतको कार्यविधि पास गरेको छ। ठूला वडालाई चार लाख, मझौलालाई तीन र साना वडालाई दुई लाख रूपैयाँ निकासा गरिएको महानगरले जनाएको छ। आवश्यक परे रकम थप्ने निर्णयसमेत भएको छ।
महानगरपालिकाको सोमबार बसेको ४३औं बैठकले कोरोना भाइरसका कारण मर्कामा परेका नागरिकलाई राहत उपलब्ध गराउन यो कार्यविधि ल्याएको हो। यसमा महानगरका पशु चौपायासम्म कोही भोको नराख्ने कार्यक्रम छन्।
काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले असहाय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्ति पहिचान गरी उनीहरूलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको बताएका छन्।
बैठकले पारित गरेको कार्यविधिमा अनाथाश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित व्यक्तिलाई असहाय मान्ने उल्लेख छ। त्यस्ता संरक्षण गृहमा बसोबास गर्ने नागरिकले महानगरले वितरण गरेको राहत पाउनेछन्।
आम्दानीको स्रोत नभएका, दैनिक गुजारा गरेर छाक टार्न धौधौ नागरिकलाई अतिविपन्न मान्ने र उनीहरूलाई पनि राहत उपलब्ध गराउने महानगरको कार्यविधिमा उल्लेख छ। राहत लिन सम्बन्धित वडाले प्रमाणित गर्नुपर्नेछ।
