काठमाडौँ: सरकारले आन्तरिक ऋण उठाउने तयार गरेको छ। सरकार लागि राष्ट्र बैंकले आउँदो चार महिनाभित्र एक खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो।
सरकारले कुल आन्तरिक ऋणमध्ये ४६.१५ प्रतिशत ट्रेजरी बिलबाट उठाउने छ। विकास ऋणपत्रमार्फत ५१.२८ प्रतिशत, नागरिक बचतपत्रमार्फत २.०५ प्रतिशत र बाँकी ०.५१ प्रतिशत बैदेशिक रोजगार बचतपत्र मार्फत उठाउने भएको हो।
सरकारले बैदेशिक रोजगार बचतपत्रमार्फत यसअघि नै ऋण उठाउन थालिसकेको छ। बाँकी भने चैतबाट उठाउने भएको हो।
चैतमा राष्ट्र बैंकले ५५ अर्ब ४० करोड रुपैयाँ उठाउने छ। आगामी सात दिनभित्र यो ऋण उठाउने छ। सरकारले २५ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने छ भने ३० अर्बको विकास ऋणपत्र जारी गर्ने छ। कुल ४० करोडको बैदेशिक रोजगार बचतपत्र पनि निष्काशन हुने छ। यसअघि नै २० करोडको भइसकेको छ।
वैशाखदेखि असारसम्म सरकारले एक खर्ब ३९ अर्ब ४० करोडको आन्तरिक ऋण उठाउने छ। यसमध्ये ६५ अर्बको ट्रेजरी बिल निष्काशन गर्ने छ। ७० अर्बको विकास ऋणपत्र र ४ अर्बको नागरिक बचतपत्र निष्काशन गर्ने छ। अर्को ४० करोडको बैदेशिक रोजगार बचतपत्र जारी गर्ने छ।
