काठमाडौँ: नेपालमा स्थानीय स्तरमा कोरोना संक्रमण फैलन थालेको भन्दै चिनियाँ पक्षले नेपालसँगको व्यापारिक नाका सञ्चालन गर्न आनाकानी गरेको छ ।
नेपालको कारण चीनमा कोरोना फैलन सक्ने भन्दै चिनियाँ अधिकारीहरु सशंकित बनेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।
नाका सञ्चालनको तयारी अन्तिम अवस्थामा पुर्याउँदै गर्दा चीनको नयाँ नीतिअनुसार तत्काल नाका सञ्चालन हुननसक्ने जानकारी केरुङ प्रशासनले गराएको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । तर, यस्तो जानकारी लिखित चाहिँ नभएको उनले बताए।
माल वस्तु आयात निर्यातसँगै मानिसको ओहोर-दोहोर हुने र त्यसले संक्रमणको जोखिम बढाउने चिन्ता चिनियाँ पक्षलाई भएको उनले बताए । नाका सञ्चालन गर्नेबारे कूटनीतिक तवरमा निर्देशन हुनुपर्ने जानकारी चिनियाँ पक्षले गराएको उनले बताए ।
