काठमाडौँ: नेपाल प्रहरीका १० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएका छन्। १० जनामा सुदूरपश्चिमका दुई जना परेका छन्। डीआईजी बढुवाका लागि सिफारिस हुनेमा तेश्रो नम्वरमा डडेल्धुराका बसन्तकुमार पन्त रहेका छन।
उनी अहिले प्रहरी प्रधान कार्यालय तालिम महाशाखा नक्साल काठमाडौँमा कार्यरत छन्। उनी २०४९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। यस्तै बैतडी पुर्चाैडीका रवीन्द्रबहादुर धानुक बढुवको आठौँ नम्वरमा छन्। उनी अहिले प्रहरी प्रधान कार्यालय कार्य विभाग महाशाखा नक्सालमा कार्यरत छन्। उनले पनि २०४९ सालमै प्रहरी सेवा सुरु गरेका थिए।
गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार १० जनालाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो। पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय विशेष सशस्त्र प्रहरी महाशाखा नक्सालमा कार्यरत घनश्याम अर्याल रहेका छन्। न्वेशषण योजना तथा विकास निर्देशनालयमा कार्यरत प्रकाशजंग कार्की दोस्रो नम्बरमा छन्।
मानव बेचबिखन ब्युरोमा कार्यरत ईश्वरबाबु कार्की चौथो, महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका सहकुल बहादुर थापा पाचौँ, धिरजप्रताप सिंह छैठौँ, बसन्तकुमार लामा सातौँ, महानगरीय प्रहरी परिसरको जिम्मेवारीमा रहेका उत्तमराज सुवेदी नवौँ र अख्तियारमा कार्यरत अरुणकुमार बिसी बढुवा सिफारिस सूचीको १०औँ नम्बरमा रहेका छन्।