मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी हो: राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
नयाँ वर्ष २०७७ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले यस धर्तीमा आज कोरोनाभाइरसले एक लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंँलाख संक्रमणबाट प्रभावित भई जीवनका निम्ति संघर्ष गरिरहेका बेला आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
सन् २०१९ को अन्त्यतिर विश्वव्यापी महामारीको रूप लिएको नोबल कोरोनाभाइरस (कोभिड—१९) को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने देखिएको जनाउँदै उहाँले अब हाम्रो अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्नका लागि यहाँका आन्तरिक स्रोत उर्वर भूमि, जलसम्पदा, वनजङ्गल र जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु हाम्रो गहन दायित्व हुन आएको औँल्याउनुभएको छ ।
“नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर भएसँगै विकासका प्रयास तीव्रताका साथ अगाडि बढेका छन् । गत वर्ष हामीले महत्वपूर्ण आर्थिक वृद्धि हासिल गर्न सफल भयौँ । विनाशकारी भूकम्पले भत्काएका निजी आवास तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणमा सफलता हासिल भएको छ । राष्ट्रव्यापी सडक सञ्जाल निर्माणमा निरन्तरता, विभिन्न जलविद्युत् परियोजनाहरू सम्पन्न हुने क्रमले यस वर्ष हाम्रो राष्ट्रिय आय र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिरहेकै बेला हामी विश्वव्यापी महामारीको चपेटामा परेका छौंँ ”, सन्देशमा भनिएको छ ।
कोरोनाभाइरस सिर्जित यस विपद्मा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको बताउँदै राष्ट्रपतिले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई पुनः एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
महामारीको संक्रमण रोक्ने उपायका रूपमा अवलम्बन गरिएको ‘लकडाउन’का कारण यसपटक नयाँ वर्ष मनाउने र हर्षोल्लास आदानप्रदान गर्ने कार्यमा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले नयाँ वर्षले राष्ट्रमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
नववर्षको प्रारम्भिक महिनामै कोरोना नियन्त्रण हुने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७७ ले कोभिड–१९ विरुद्धको सङ्घर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने बताउनुभएको छ । नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उहाँले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी नियन्त्रण हुने र देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पुरानै लयमा छिट्टै फर्कने विश्वास व्यक्त गर्नुभएको छ ।
कोभिड–१९ विरुद्धको सङ्घर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने भन्दै उहाँले यसमा आमजनताको पूर्ण साथ र सहयोगको खाँचो औँल्याउनुभएको छ । जस्तोसुकै अप्ठ्यारामा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकूलतामा बदल्ने हाम्रो विगत भएको स्मरण गर्दै उहाँले सन्देशमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकारको निर्णयमा पूर्ण साथ दिन सबैमा अपिल गर्नुभएको छ । “विषम परिस्थितिका बीच हाम्रो घर आँगनमा आइपुगेको नयाँ वर्ष २०७७ सबै नेपालीका लागि सम्झनायोग्य हुने मैले विश्वास लिएको छु”, सन्देशमा उपराष्ट्रपतिले भन्नुभएको छ ।
नयाँ वर्षलाई समृद्धि र दिगो विकास वर्ष बनाऔँ: सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जीतको वर्ष बनाउन आह्वान गर्नुभएको छ । नयाँ वर्षका उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा शुुभकामना सन्देश दिँदै उहाँले समृद्धि र दिगो विकासको बाटामा अघि बढेको वर्षका रुपमा नयाँ वर्षलाई स्थापित गरौँ भन्नुभयो ।
नयाँ वर्षलाई स्वागत गर्दै गर्दा कोभिड –१९ को महामारीविरुद्ध सङ्घर्ष गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “नयाँ वर्षको आरम्भलाई कोरोना र सम्भावित अन्य महामारीलाई परास्त गर्ने दृढ सङ्कल्प गर्नुपरेकाले सोहीअनुसारको व्यवहारमा रही आपसमा शुुभकामना आदानप्रदान गरेर स्वागत गरौँ ।”
जस्तासुकै विषम परिस्थितिलाई परास्त गरी अघि बढेको नेपालको गर्विलो इतिहास सदैव पे्ररणादायी रहेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “कोभिड–१९ को जोखिमको विषम परिस्थितिमाथि जीत हासिल गरेर लोकतन्त्रलाई अझ विस्तार, विकास र सुदृढ गर्दै समाजवादउन्मुख नीति, कार्यक्रम र योजनासहित अघि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् ।”
कोरोना नियन्त्रणमा सफलता मिल्ने अध्यक्ष दाहालको विश्वास
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउनलगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गर्नभएको छ । नव वर्ष २०७७ सालको अवसरमा आज सम्पूर्ण देशवासीमा शुभकामना दिँदै उहाँले उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा कोरोना (कोभिड–१९) भाइरसविरुद्ध विजय प्राप्त गर्न पनि विशेष अपिल गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री दाहालले सबै जाति, समुदाय, राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको सङ्घर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास गर्नुभएको छ । अध्यक्ष दाहालले नयाँ वर्षले कोरोना भाइरसको महामारीकाविरुद्ध सङ्घर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामनासमेत गर्नुभएको छ ।