काठमाडौँ: अनेक चर्चा र परिचर्चापछि अर्थमन्त्री युवराज खतिवडाका छोरा तथा सनराइज बैंकमा कार्यरत तिलक खतिवडाले पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको आन्तरिक निर्वाचनपछि विजयीलाई बधाई दिन आफ्नो बुवा नआएको बताएका छन्।
केही सञ्चारमाध्यमले विजयीलाई बधाई दिन अर्थमन्त्री खतिवडा सनसिटी अपार्टमेन्टमा गएको उल्लेख गरेका थिए।
उनले भने- मेरो बुवा बिजयीलाई बधाई दिन आउनु भएको छैन’, तिलक खतिवडाको जिकिर छ, ‘हाम्रो आन्तरिक व्यवस्थापन समितिको चुनावमा पनि सोसल डिस्टेन्स पालना भएको थियो। हरेकले सेनिटाइजर लगाएका थिए।’
सनसिटी अपार्टमेन्टमा गत चैत ८ झन्डै २५० जनाको सहभागितामा निर्वाचन भएको थियो।
‘मत पेटिकामा मत खसाल्न पनि हामीले एकपटकमा एक जनाको मात्र व्यवस्था गरेका थियौँ’, खतिवडाले भने।
छोरा खतिवडा उक्त निर्वाचनबाट अपार्टमेन्ट व्यवस्थापनको सचिव निर्वाचित भएकाथ थिए।
उनले अपार्टमेन्टका भवनका लिफ्ट सफा राख्नेदेखि बाहिर भेला हुनसम्म रोकिएका कारण कोरोना भाइरसको संक्रमणको सम्भावना कमै रहेको बताए। उनले संक्रमित भनिएका परिवार ब्लक ए मा रहेको र आफ्नो परिवार ब्लक बी मा रहेको बताए।
‘लकडाउनपछि मैले बुवालाई पनि भेटेको छैन’, खतिवडाले भने, ‘म एकपटक बैंकको कालिकास्थानस्थित कार्यालयमा मात्र पुगेको छु।’
सनसिटी अपार्टमेन्टमा भेटिएका संक्रमित परिवार विदेशबाट आएपछि सेल्फ आइसोलेसनमा बसेको अनौपचारिक जानकारी पाएको उनले बताए।