काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा. पुनलाई कारबाही गर्न पत्राचार गरिएको हो । ;स्पष्टीकरण मागसहितकाे सो पत्र शुक्रबार टेकु अस्पतालको प्रशासनमा पुगेको छ ।
टेकु अस्पतालको प्रशासन विभाग प्रमुख रुपनारायण खतिवडाले ‘पत्र प्रशासनमा आइपुगेको भएपनि आफूले शुक्रबार खोलेर हेर्न नभ्याएकाले के व्यहोरा उल्लेख छ भन्ने जानकारी नभएको’ दावी गरे ।
‘पत्र हिजो आएको भन्ने कुरा मेरो स्टाफले मलाई फोन गरेर जानकारी गराउनु भएको थियो । तर, म विशेष कारणबस बाहिर हुँदा पत्र खोलेर हेरेको छैन’, शनिबार बिहान रातोपाटीसँग उनले भने ।
‘गोप्य’ पत्र आइतबार खोलेर हेरेपछि थप कुरा आउने उनले बताए ।
स्रोतका अनुसार टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटको संयोजक समेत रहेका डा पुनले हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषयमा ‘अनावश्यक रुपमा बोलेको’ भन्दै मन्त्री ढकाल उनीसँग असन्तुष्ट थिए । तर, डाक्टर पुनले भने ‘आफूले कोरोनाभाइरसबारे सत्यतथ्य कुराहरु प्रकाशमा ल्याएर जनचेतना फैलाएको’ बताएका छन् ।