बारा : लकडाउनका कारण मारमा परेकालाई राहतका नाममा कुहिएको दाल बाँड्ने मेयरलाई प्रहरीले पक्राउ गरेको छ।
आज मंगलबार प्रहरीले राहतमा कुहिएको दाल बाँडेको भन्दै बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवसहित अन्य ७ जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख -एसपी कृष्ण पंगेनीले मेयरलाई सोधपुछका लागि पक्राउ गरेको बताए। उनले कुहिएको राहत बाँडेको उजुरी आएपछि सोधपुछका लागि पक्राउ गरेको बताए।
‘मेयर रायसहितको टोलीले विभिन्न ठाउँमा बाँडेको रहात कुहिएको भेटिएको उजुरीका आधारमा हामीले उनलाई सोधपुछ गर्न पक्राउ गरेका हौँ’, एसपी पंज्ञेनीले भने, अहिले सोधपुछ गरिरहेका छौँ।’
गत २८ गते नगरले वितरण गरेको राहतमा कुहिएको दाल, चामल भ भेटिएपछि यसअघि नै तीन वडाध्यक्ष र मिलका सञ्चालकलाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा वडा नम्बर ११ का वडाध्यक्ष सर्वनारायण चौधरी, १३ नम्बरका वडाध्यक्ष राजनप्रसाद कुर्मी र २६ नम्बरका वडाध्यक्ष महेश साह रहेका छन्।
त्यस्तै धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन, कोल्ड स्टोर रेखदेख गर्ने मुन्सीकुष्ण यादव पनि पक्राउ परेका छन्।