काठमाडौँ: निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले एक महिनापछि अन्तर्राष्ट्रिय उडान गरेको छ।
आइतबार साँझ मेडिकल सामाग्री लिन काठमाडौं-ग्वान्झाओ उडान भएको कम्पनीको एयरबस ३२० जहाज मेडिकल सामाग्रीसहित सोमबार बिहान १०:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ।
कम्पनीको एन-एएलडब्लु कलसाइनको न्यारोबडी ‘एयरबस ३२०-२१४’ जहाजले मेडिकल किट्स ल्याउनका लागि सोमबार साँझ ५:३० बजे ग्वान्झाओतर्फ उडान गरेको थियो।
‘लकडाउनका कारण उडान प्रभावित भएको महिना दिनपछि हामीले मेडिकल सामाग्री ल्याउनका लागि अवसर पाएका हौँ। कोभिड-१९ नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामाग्री ल्याउनका लागि अत्यावश्यक सेवा दिन पाउँदा हामी खुसी छौँ’, कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने ।
उनले नेपाल नागरिक उड्डयन प्राधिकरणको विशेष अनुमति पाएपछि सरकारले निर्देशन अनुसार यो उडान गरिएको बताए। उनले भने- ‘यो उडानमार्फत मुलुकलाई सेवा दिने अवसरसँगै आफ्नो उडान संचालन गर्न पाउँदा खुसी छौँ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार यो कार्गो उडानमार्फत २९ सय ५९ किलो परिणामको टेस्टीङ किट, सुरक्षा उपकरण(पीपीइ, मास्क, पन्जा), औषधि लगायत स्वास्थ्य सामाग्री ल्याइएको छ।
