काठमाडौं: गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको प्रसार रोक्न गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।
पछिल्लो समय स्थानीय तहहरूले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरू गाउँमा लगेका छन् । विराटनगर महानगरपालिकाले अलपत्र परेकाहरू भन्दै सात वटा गाडीमा एक सय ६० जनालाई काठमाडौं उपत्यकामा आज बिहान पठायो जो अहिले थानकोट नाकामा अलपत्र छन्।
साथै, सडकमा सवारी साधनको चाप पनि बढेको छ । लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको छ ।
‘अत्यावश्क सेवाका लागि पास चाहिँदैन । अरुको हकमा विनापासका सवारी चलाउन नदिनू भनेर हामीले यसअघि नै परिपत्र गरेको हौँ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अनलाइनखबरसँग भने, ‘लकडाउन खुकुलो भएको गुनासो आएपछि आज फेरि परिपत्र गरेर त्यसलाई सम्झाएका छौँ ।’
गृहको परिपत्रलगत्तै प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई कारबाही थालेको छ ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार सोमबार मात्रै एक हजार एक सय २४ जना व्यक्ति उपत्यकाबाट कारबाहीमा परेका छन् । यस्तै, ६२ वटा सवारीसाधन पनि कारबाहीमा परे ।