काठमाडौँ: नागार्जुन नगरपालिका वडा नम्बर १ को कार्यालयले मंगलबार अतिविपन्न र दैनिक ज्यालामजदुरी गरेर छाक टार्नु पर्ने अवस्थाका झन्डै २७० जनालाई नि:शुल्क खाना खुवाएको छ ।
विश्वमहामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड-१९) ले गर्दा अहिले देश नै पूर्ण बन्दाबन्दी (लकडाउन) को अवस्थामा रहेको बेला यही वडाभित्र रहेका मजदुर, दैनिक ज्यालादारी र श्रमिकलाई आज बिहान र साँझ गरेर दुई छाक खानाको प्रवन्ध गरिएको वडा कार्यालय प्रमुख तथा वडा अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए।
आज बिहान व्यवस्था गरिएको खाना खुवाउने कार्यक्रममा १३५ जना श्रमिक-मजदुरले खाना खाएको उनले बताए। सो कार्य वडाको पूर्ण पहलमा आयोजना गरिएको पनि लामाले बताए।
खाना खाने कार्यक्रम नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र वडा अध्यक्ष लामाले खाएर सुरुवात गरेका थिए।
यस्तै, अहिले साँझको खाना खुवाउने कार्यक्रममा भने साँझ परेको असिना पानीले गर्दा केहि मानिस कम आएपनि बेलुका पखी भने पुनः मानिसहरु खाना खान आएका उनले बताए। अहिले साँझ ७:०० बजेसम्म जारी राखिएको कार्यकमभित्र आएर खाना खनेको संख्या झन्डै १३५ कै हाराहारीमा पुगेको वडा सदस्य रामेश्वर लामाले जानकरी दिए।
उनीहरुलाई सादा खानामात्रै खुवाएको पनि उनले बताए। राहत वितरण गर्दाभन्दा खाना खुवाउने कार्यक्रम आयोजना गर्दा वास्तविक खाना नपाएका र दैनिक हातमुखको गुजारा गर्न समस्या परेका मात्रै आउँदा वास्तविक दिनदुखीको पहिचान गर्न सजिलो परेको लामाले बताए। राहत वितरण गर्दा केहि सामान्य जागिर खाएर पेट पालना सक्ने समेतका परिवार राहतका लागि आएको उनले बताए।
उनले भने- वास्तविक श्रमिक र विपन्न परिवारलाई खाना खुवाउने कार्यक्रम लकडाउन अवधिभर निरन्तरता दिने वा नदिने भन्ने बारे वडाले लिने निर्णयमा भर पर्छ।
यस्तै, वडा कार्यालयले बन्दबंदीको समयावधि भित्र विभिन्न मितिमा झन्डै ५८० जनालाई राहत वितरण समेत गरिसेको छ।

