काठमाडौँ: वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापापछि रोलक्रम अनुसार प्रधानसेनापतिको दाबेदारको रुपमा हेरिएका उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएकाे छ ।
वैशाख १४ गते बसेको मन्त्रीपरिषद् बैंठकको निर्णय अनुसार शर्मालाई उपरथीबाट रथीमा बढुवा गरिएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।
सैनिक ऐन अनुसार प्रधानसेनापति थापाको सिफारिसमा शर्माको बढुवाको लागि सरकार समक्ष पेस गरिएको थियो ।
सेनामा दुई रथी हुनेमा दोस्रो वरियताका रथी (बलाध्यक्ष) गौरव तण्डुल उमेर हदका कारण वैशाख १९ बाट अनिवार्य अवकाश पाउँदै छन् । सैनिक ऐन अनुसार रथीको उमेर हद ५८ वर्ष रहेको छ । तण्डुल अहिले अनिवार्य अवकाश अघि बस्नु पर्ने बिदामा छन् ।
वैशाख १९ मा तण्डुल अवकाश भए लगत्तै प्रधानसेनापति थापाले शर्मालाई रथीको रुपमा सैनिक मुख्यालयमा दज्र्यानी चिन्ह प्रदान गर्ने छन् ।
सेनाका पहिलो वरियताका रथी (बलाधिकृत) शरद गिरीले पनि उमेर हदका कारण यही असार ६ गते अनिवार्य अवकाश पाउँदै छन् ।
गिरीले अवकाश पाएसँगै शर्मा पहिलो वरियताका रथी अर्थात् प्रधानसेनापतिको सबैभन्दा शक्तिशाली सैनिक अधिकृत हुने छन् । शर्माको रथीको कार्यकाल दुई वर्षसम्म रहने छ । त्यस अवधिमा सैनिक ऐन अनुसार वर्तमान सेनापतिको तीन वर्षे कार्यकाल २०७८ भदौं २४ मा सकिने छ । त्यस बेलासम्म हालको ऐन संशोधन भएर नयाँ व्यवस्था नभए वा अन्य कुनै तलमाथि नभएमा वरियताका आधारमा शर्मा प्रधानसेनापति बन्ने छन् ।
शर्मा अहिले नेपालको सबैभन्दा महत्वपूर्ण र शक्तिशाली सम्भाररथी विभागमा छन् ।