काठमाडौँ: आज शनिबार सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष नयाँ प्रस्ताव राखेका छन्।
शुक्रबार दिउँसो बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राख्दै पार्टीमा सहमतीका लागि पहल गर्न आग्रह गरेको प्रचण्ड निकट पूर्वमन्त्री तथा स्थायी समितिका एक सदस्यले बताए।
‘म पाँच वर्ष प्रधानमन्त्री चलाउँछु, तपाईं पाँच वर्ष नै पार्टीको नेतृत्व गर्नुहोस्, बरु दुई जना अध्यक्षको व्यवस्था पनि हटाइदिउँ’, प्रचण्डसँग ओलीको भनाइ उधृत गर्दै स्थायी समितिका ती सदस्यले भने।
ओलीसँग भेटेपछि प्रचण्ड सिधै वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूसँग भेट्न गएका थिए। जहाँ उनले ओली र आफुबीच भएका सारा कुराकानी सुनाएका थिए।
प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्री ओली र उनको समूहका नेताहरूबाट जे जस्ता प्रस्ताव आएपनि आपसमा खुलस्त सुनाउने र छलफल गर्ने गर्दै आएका छन्। बिहीबार माधव नेपालले पनि प्रधानमन्त्री ओलीसँगको भेटमा भएका कुराकानी यसरी नै आफ्नो समूहमा सुनाएका थिए।
‘यी सबै विषयको छलफल स्थायी समितिमा लगेर गरौं, बरु तपाईँले गरेको यो प्रस्ताव पनि स्थायी समिति बैठकको एजेण्डामा राखौं’, शुक्रबारको भेटमा प्रचण्डले ओलीलाई दिएको जवाफ उधृत गर्दै ती नेताले थपे।
उनका अनुसार स्थायी समिति बैठक राखौं भन्ने प्रस्तावमा प्रधानमन्त्री ओलीले उतिसारो चासो नदिएको प्रचण्डले बताएका छन्।
‘स्थायी समितिमा नजान प्रधानमन्त्रीले बढी नै जोड गर्नुभएको छ’, उनले भने।
दलविभाजन र संबैधानिक परिषद् सम्बन्धि दुईवटा विवादास्पद अध्यादेश ल्याएपछि नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। पार्टीबाट तीव्र दबाब भएपछि सरकारले अध्यादेश फिर्ता लिएको छ तर, त्यसले पारेको असरबारे छलफल गर्न नेकपाका नेताहरुले स्थायी समितिको माग गरेर लिखित रुपमा दुबै अध्यक्षलाई बुझाएको दुई हप्ता भइसकेको छ।