काठमाडौँ: कोरोनाभाइरसको संक्रमण निको भएर घर फर्किएका रौतहटका १९ वर्षीय युवकलाई पुनः अस्पताल भर्ना गरिएको छ।
जिल्लाको ईशनाथ नगरपालिका-८ निवासी युवकलाई शनिबार राति ८ बजे वीरगन्जस्थित नारायणी अस्पताल भर्ना गरिएको हो।
‘मलाई किन अस्पताल ल्याएको भनेर डाक्टरलाई सोध्छु। प्रष्ट उत्तर दिनुहुन्न’ ती युवकले भने, ‘फेरि पोजेटिभ देखिएको हो वा हैन, थाहा छैन। डाक्टरले तीन दिन बस्नुपर्छमात्र भन्नुभएको छ।’
भारतको दिल्लीबाट फर्किएका उनमा गत वैशाख १ गते कोरोनाभाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
१४ दिनको अस्पताल बसाइपछि उनको लगातार दुईटा रिपोर्ट नेगेटिभ आएपछि गत आइतबार डिस्चार्ज गरिएको थियो।
उनीसँगै तीनजना भारतीय नागरिकलाई पनि डिस्चार्ज गरिएको थियो।
डिस्चार्ज भएपछि उनी घरमै बस्दै आएका थिए। यो बीचमा फेरि स्वास्थ्यकर्मीको टोली गएर युवकसहित उनको परिवारको रगत र स्वाबको नमूना संकलन गरेको थियो। परिवारको बाँकी सदस्यको नेगेटिभ आए पनि आफ्नो के नतिजा आयो भन्ने कुरा डाक्टरले स्पष्ट नभनेको युवकले सुनाए।
‘तिमीलाई केही हुँदैन भनेर मात्र भन्नुहुन्छ। कम्तिमा मलाई किन अस्पताल ल्याएको भन्ने कुरा त थाहा हुनुपर्छ नि,’ उनले भने।
उनले फेरि अस्पताल आउनु परेकोमा दुःख पोखे। उनले डिस्चार्ज हुँदाको पल सम्झँदै भने, ‘फूल र उपहार दिएर डिस्चार्ज गर्नुभयो। फेरि अस्पताल आउनुपर्यो भनेर लिएर आउनुभयो। खै मैले त केही बुझेकै छैन।’
यस विषयमा नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन।