काठमाडौं: राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी वर्ष अर्थतन्त्रका लागि निक्कै चुनौतिपूर्ण रहेको बताएका छन्।
उनले वैदेशिक ब्यापार सन्तुलन चालु वर्ष कायम गर्न सकिए पनि आगामी वर्ष विप्रेषणलगायतका कारणले चुनौती थपिएको बताए।
गभर्नर अधिकारीले मंगलबार संसदको अर्थसमितिमा बोल्दै लकडाउन सुरु भएयता वित्तीय क्षेत्रको ऋण र निक्षेप बढ्न नसकेको बताए। उनले अघिल्लो वर्ष ६० अर्बले घाटामा रहेको शोधनान्तरस्थिति यसपाली ३८ अर्ब रुपैयाँ नाफामा रहेकाले चालु वर्ष खासै समस्या नहुने बताएका हुन्।
उनले रेमिटेन्स २० प्रतिशतले घट्ने अनुमान सुनाउँदै यही कारण बाह्य क्षेत्र स्थायित्व कायम गर्न समस्या हुन सक्ने बताए। उनले अर्थतन्त्रको अवस्थालाई लेखाजोखा गर्न तीन किसिमबाट अध्ययन भइरहेको समेत बताए।
गभर्नर अधिकारीले ५ करोडभन्दा बढी कर्जा लिने ग्राहकलाई विशेष ध्यान दिन बैंकहरुलाई भनिएको जानकारी गराएका थिए।
