काठमाडौँ: संघीय संसदका सदस्यहरूको कोरोनाभाइरस परीक्षण थालिएको छ। संसद भवन बानेश्वरमा प्रतिनिधि र राष्ट्रिय सभा सदस्यको पिसिआरबाट कोरोना परीक्षण भइरहेको छ।
संसदको बजेट अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ। कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर भौतिक दूरी कायम गरी संसद बैठक चलाउने तयारी भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदा उनको वरपरका १२ सिट खाली राखिने भएको छ। कोरोना भाइरस संक्रमणबाट जोगाउन प्रधानमन्त्री संसद बैठकमा उपस्थित भएका बेला यस्तो दूरी कायम गर्न लागिएको हो।
केही समयअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको वरपर संसद बैठक क्रममा कुनै पनि मन्त्री बस्ने छैनन्।






