काठमाडौँ: अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटमा हाल संचालनमा रहेका रुपान्तरणकारी आयोजना र कार्यक्रमहरुलाई कार्यान्वयनका लागि साधनहरु कमी हुने नदिने बताएका छन्।
आगामी बजेटका प्राथमकिता र सिद्धान्तहरु सार्वजनिक गर्दै उनले बजेटमा सडक निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिए।
आइतबार दुवै सदनमा सम्बोधन गर्दै खतिवडाले द्रुतमार्ग मार्ग, व्यापारिक मार्ग, उच्च गतियुक्त राजमार्ग, रणनीति र स्थानीय तहको केन्द्र जोड्ने तथा शाखा सडकहरुलाई आवश्यक स्रोत व्यवस्थापन गरिने बताए।
उनका अनुसार बजेटमा सुरुङमार्ग, रेलमार्ग, जलमार्ग कार्यान्वयनलाई तीव्रता दिइने छ।
शहरी क्षेत्रमा विद्यमान सवारी चापलाई व्यवस्थित गरि सुविधाजनक परिवहन सेवा उपलब्ध गराउन सार्वजनिक यातायात संचालनलाई प्राथमिकतामा राखिने छ।
सुरक्षित आवास, महत्वपूर्ण सार्वजनिक भवन र अन्य शहरी पूर्वाधार निर्माण तथा विकास जोड दिइनेछ।
भूकम्पपछिको पुनर्निर्माणका अधिकांश आयोजनाहरु आगामी वर्ष पूरा गरिनेछ। निर्धारित समय र लागतमा आयोजनाहरु सक्नका लागि नीति तर्जुमा र अनुगमनलाई तीव्रता दिइनेछ।
त्यसैगरि हाल संचालनमा रहेका र १५औं योजनामा रहेका कतिपय आयोजना पुन: प्राथमिकतामा राखिनेछ। नदी पथान्तरण तथा नदी नियन्त्रणका आयोजनाहरुलाई पनि प्राथमिकतामा राखिएको खतिवडाले बताए।
