काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले लिपुलकको विषयमा भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ति सच्याउनु पर्ने बताएका छन्।
भारतले नेपाली भू–भाग अतिक्रमण गरी मानसरोवर जाने करिडोर निर्माण गरेपछि त्यसको नेपालमा विरोध भइरहेका बेला भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेको भनी नेपालले अरु कसैको आदेश बमोजिम भारतलाई दोष दिएको बताएका थिए। उनले् चीनतर्फ संकेत गर्दै यस्तो बताएका हुन्।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भारतीय सेनापतिको भनाई अपत्तिजनक भएको बताउँदै त्यसलाई तुरुन्त सच्याउन आग्रह समेत गरेका छन्। उनले नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्रका रुपमा रहेको बताउँदै प्रवक्ता श्रेष्ठले नेपालले अरु कसैका आदेशमा नभइ आफ्नो भूमि फिताृ गर्न आफैँ सक्रिय भएको प्रस्ट पारेका हुन्।
‘नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीमा नेपाली पक्षको अडान र भारतले दार्चुला र लिपुलेक क्षेत्रमा अवैध रुपमा सडक बनाएको विषयमा नेपालको विरोधमा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेले दिएको अभिव्यक्ति आपत्तिजनक छ’, शनिबार सामाजिक सञ्जाल ट्विटरमा श्रेष्ठले लेखेका छन्, ‘नेपाल जहिल्यै सार्वभौम र स्वतन्त्र राष्ट्रको रुपमा आफ्नै पक्षमा खडा छ। त्यसैले उनले आफ्नो भनाइ सच्याउनु पर्छ।
भारतले पहिले नेपाली भूभाग आफ्नो नक्सामा समेट्ने कार्य गरेको थियो भने अहिले भूमि अतिक्रमण गरी लिपुलेक हुँदै चीनको तिब्बत पुग्ने सडक बनाएपछि नेपालमा त्यसको तीब्र विरोध भइरहेको छ।
भारतीय अतिक्रणका विरुद्धमा परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर कुटनीतिक नोट दिइसकेको छ भने केही वर्षयता खाली रहेको कालापानी नजिकको छाङरुमा सशस्त्र प्रहरी पोष्ट स्थापना गरेको छ। बिहीबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आयोजना गरी राष्ट्रिय सहमति जुटाउने प्रयास गरेका थिए।
