काठमाडौँ: कोरोना (कोभिड–१९) को जोखिमबाट बच्न सरकारले गरेको लकडाउन अवधिमा बैंक तथा वित्तीय संस्थामा करिब १०४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो चैत ११ देखि जेठ ८ सम्म बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेप हो ।
लकडाउनका कारण गत शुक्रबारसम्म प्राय: बैंक तथा वित्तीय संस्था बन्द थिए । केही शाखा आलोपालो गरी दैनिक २/३ घण्टा खुले पनि सीमित बैंकिङ (निक्षेप संकलन, पैसा झिक्नेलगायत सामान्य बैंकिङ) बाहेक अन्य कारोबार भएको थिएन ।
राष्ट्र बैंकका अनुसार गत चैत ११ मा ३५ खर्ब ९४ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेर जेठ ८ सम्म ३६ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।
लकडाउन अवधिमा अत्यावश्यकबाहेक आर्थिक गतिविधि बन्द थिए । खाद्यान्न, खानेपानी, औषधिलगायत अत्यावश्यक गतिविधि भने लकडाउनमा पनि चले । यो अवधिमा ती क्षेत्रबाट बैंक तथा वित्तीय क्षेत्रमा राम्रो निक्षेप संकलन भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘खाद्यान्न, औषधि, औषधिजन्य औजार उपकरण खरिदबिक्री व्यवसायले राम्रो आम्दानी गरेका छन्,’ उनले भने, ‘उपभोक्ताले उपभोगमा खर्चेको पैसा पनि व्यवसायीमार्फत बैंकमा आएको छ ।’
चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाले निक्षेपमा रहेको रकमको ब्याज सम्बन्धित खातामा हालिदिएकाले पनि निक्षेप धेरै बढेको हुन सक्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए ।
‘चैत मसान्तमा त्रैमासिक रुपमा ब्याज गणना भयो, रेमिट्यान्समार्फत केही पैसा आयो । यसले निक्षेप बढायो,’ उनले भने ।
लकडाउन अवधिमा निक्षेप बढे पनि बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह खासै बढेको छैन । सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह करिब २६ अर्ब रुपैयाँ मात्र बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
चैत ११ मा ३२ खर्ब १८ अर्ब रुपैयाँ रहेको कुल कर्जा जेठ ८ सम्म बढेर ३२ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा अत्यावश्यकबाहेक सबै कामकाज रोकिएकाले कर्जा प्रवाह नभएको राष्ट्र बैंकले जनाएको छ ।
