काठमाडौं: आर्थिक वृद्धिदरमा उल्लेख्य गिरावट आएपनि नेपालीको प्रतिव्यक्ति आयमा भने सुधार भएको छ। वर्षदिनमा नेपालीको आय ८५६३ रुपैयाँ हाराहारीले बढेको छ।
अहिलेको विनिमय दरअनुसार एक नेपालकी औसत आय १ लाख २६ हजार १८ रुपैयाँ पुगेको छ। आज एक डलरको भाउ १२१ रुपैयाँ ८३ पैसा छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रतिनिधि र राष्ट्रियसभा दुवैमा चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आय ५१ अमेरिकी डलरले बढेर १०८५ डलर पुगेको बताए।
सरकारले आगामी २५ वर्षमा प्रत्येक नेपालीको आम्दानी साढे १२ हजार डलर पुर्याउने लक्ष्य राखेको छ। पछिल्लो १० वर्षको आय वृद्धिलाई हेर्दा त्यो लक्ष्य भेट्टाउन असम्भवै जस्तो देखिन्छ।
पछिल्लो २० वर्षको वृद्धि हेर्दा नेपालीको आय एकदमै सुस्त रूपमा बढेको छ। २० वर्षअघि एक नेपालीको आय २५९ डलर थियो। २० वर्षमा करिब करिब ३ गुणाले मात्र आय बढेको छ, जुन एकदमै निराशाजनक हो।
कोभिड-१९ का कारण चालु वर्षको आर्थिक वृद्धि दर भने प्रभावित भएको छ। साढे ८ प्रतिशतभन्दा निकै कम वृद्धिदर हासिल अर्थमन्त्रीले बताए। उनले यसपाली आर्थिक वृद्धि २.३ प्रतिशत हाराहारी हुने बताए। उनले कोभिड-१९ का कारण आर्थिक क्रियाकलापमा संकुचन आएको बताए। फागुनसम्म सबै ठिकठाक भए पनि त्यसयता अवस्था असहज भएको उनले बताए।
