काठमाडौं: सरकारले कर तिर्ने समय असार ७ गतेसम्मलाई थप गरिदिएको छ। ब्यापक विरोधपछि सरकारले कर तिर्ने समय बढाएको हो।
आन्तरिक राजश्व विभागले मंगलबार सुचना जारी गर्दै जेठ २५ गतेभित्र कर भुक्तानी गरिसक्न भनेको थियो। त्यसपछि अर्थमन्त्री, मन्त्रालयका अधिकारीहरुको ब्यापक विरोध सुरु भएको थियो। ब्यापक बिरोधपछि अर्थसचिव शिशिरकुमार ढुङ्गानाले ब्यवसायीसँग बुधबार भेटी लचकता अपनाउने बताएका थिए।
लगत्तै विभागले अर्को सुचना जारी गर्दै कर तिर्ने समय बढाएको हो। विभागले बुधबार जारी गरेको सुचनामा असार ७ गतेसम्म कर नतिरेमा जरीवाना लगायतका कारवाही गर्ने भाषा प्रयोग भएको छैन्। मंगलबार जारी भएको विभागको सूचनामा ब्याज र जरीवाना लिने उल्लेख थियो।
स्रोतका अनुसार तल्लो तहका जनताले समेत लकडाउनको अवधिमा कर तिर्न उर्दी जारी गरेकोमा अर्थमन्त्री डा. युवराज खतिवडाको आलोचना भएको थियो। कर तिर्न उर्दी जारी गरिएको प्रति नेकपाकै नेता कार्यकर्ता समेत अर्थमन्त्री खतिवडासँग रुष्ट भएका थिए। सामाजिक संजालमा खतिवडाको नेकपाका कार्यकर्ताले समेत विरोध जनाएका थिए। त्यही भएर बुधबार जारी भएको सुचनामा असार ७ गते नबुझाएमा ब्याज तथा जरीवाना तिर्नुपर्ने लगायत उल्लेख नभएको हो।
सरकारले जेठ ३२ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको छ। विभागले असार ७ गतेसम्म कर तिर्न अर्को सूचना जारी गरेको छ।
आयकरको अनुमानित विवरण र चैतसम्मको कर असार १५ गतेसम्म तिर्न भनेको छ। मूल्य अभिबृद्धि कर, अन्त शुल्क र बाँकी आय कर असार ७ सम्म तिरिसक्न भनेको छ।
