काठमाडौं: पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २६ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् ।
उनीहरु मध्ये १०८ जना नारायण नगरपालिका र ७ जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन् ।
यस्तै रौतहटमा ६५ जना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमित मध्ये इशनाथ नगरपालिकाका ४६, गुजराका ८, गढीमाईका ७ जना छन् भने चन्ऽपुर माधवनरायण र फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका एकएक जना छन् । उनीहरु सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरु छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या २६ सय ३४ पुगेको छ । उनीहरु मध्ये १० जनाको मृत्यु भएको छ भने २९० जना कोरोना मुक्त भएका छन् ।
यस्तै, कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।
पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्याइएको थियो ।