सुर्खेत: कोरोना भाइरसको संक्रमण बढेसँगै दैलेखमा आज साँझ ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ। विहीवारमात्र दैलेखमा ११३ जनामा संक्रमण देखिएपछि जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाउने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ, भिरतेत, उत्तरमा छात्रा र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लू नगरपालिकाको पूर्वमा माथिल्लो डुङ्गेश्वर, चुप्रा, शिरस्थान, पश्चिममा पादुकाखोला, कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वरमा लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ।
राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, बैंकिङ्ग, आन्तरिक सुरक्षा, खानेपानी तथा विद्युत सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी तथा वितरण, फोहोरमैलाको व्यवस्थापन बाहेकका अन्य सबै सेवा/स्थलहरुमा निषेधाज्ञा गरिएको प्रशासनले विज्ञप्तिमार्फत जनाएको छ।
